चलचित्रको स्तर खस्कियो – करिश्मा मानन्धर

दुइ वर्षता बनेका धेरै नेपाली चलचित्र अभिनेत्री करिश्मा मानन्धरलाई मन परेन । केही चलचित्र हेरेपछि निराश भएकी करिश्मा पछिल्लो समय नेपाली चलचित्रको स्तर खस्केको धारणा राख्छिन् । ‘मलाई त नेपाली चलचित्रको स्तर बढयो होला जस्तो लागेको थियो तर होइन रहेछ,’ करिश्माले भनिन् ।

आफ्नो पालामा भन्दा पनि आजकल नेपाली चलचित्रको स्तर झनै खस्किएको अनुभव गरिन्, उनले । चलचित्रसम्बन्धी अवार्ड ‘बक्स अफिस अवार्ड’ को निर्णायक रहेकी करिश्मा तीन सातायता लगातार नेपाली चलचित्र हेर्दै आएकी छिन् ।

पहिलो पटक निर्णायक भएर नेपाली चलचित्र हेन पाउँदा उनी सुरुमा निकै खुसी थिइन् । तर, एक पछि अर्को नराम्रो चलचित्र हेर्नुपरेपछि आफ्नो खुसी सेलाएको दुखेसो गर्दै उनले भनिन्, ‘सबै चलचित्र नराम्रा बनेका छन् भन्न खोजेको होइन । तर, धेरैजसो चलचित्र विगतका भन्दा पनि कमजोर रहेछन् ।’

नेपाली चलचित्र नराम्रो बन्नुको कारणबारे उनले भनिन्, ‘सबै चलचित्रमा राखिएको फाइट उस्तै-उस्तै देखिन्छ । नृत्य, छायांकन र प्रस्तुतिमा पनि फरक पाइनँ ।’ यस्ता चलचित्रहरू पुरानै र्ढराबाट परिवर्तन हुन नसकेको पनि उनले स्पष्ट पारिन् । करिश्माको बुझाइमा पाँच/सातओटा असुहाउँदिला फाइट, गीत एवं नृत्य राख्नैपर्ने मानसिकताबाट अझै नेपाली चलचित्र माथि उठ्न सकेको रहेनछ ।

अघिल्लो पुस्ताका नाम चलेका निर्देशकहरूले आफ्नो चलचित्र पुरानै पारा भन्दा फरक बनाउन नसकेको पनि उनले बताइन् । ‘बरु नयाँ पुस्ताका निर्देशकले केही फरक प्रस्तुति दिएका रहेछन्,’ उनले भनिन् । नयाँ पुस्ताका निर्देशकले केही राम्रा चलचित्र बनाउँछन् कि भन्ने आशा छ, उनलाई । कलाकारको अभियनप्रति पनि उनी सन्तुष्ट देखिइनन्, ‘यो मेरो व्यक्तिगत धारणा हो ।

नाम चलेका नायक-नायिकाहरूले पनि आफूलाई फरक चलचित्रमा फरक रूपमा प्रस्तुत गर्न सकेका छैनन् ।’ विगतमा करिश्मा र राजेशले खेलेका कतिपय चलचित्रका दृश्य एउटा चलचित्रबाट झिकेर अर्को चलचित्रमा राख्दा पनि फरक नदेखिने आरोप करिश्माले सुन्नुपरेको थियो ।

‘अहिलेका कतिपय नाम चलेका नायक-नायिकाको काम पनि अधिकांश चलचित्रमा उस्तै देखेकी छु’ उनले भनिन् । अवार्डका लागि दैनिकजसो सिनेमा हेरिरहेकी करिश्माले भनिन्, ‘कतिपय चलचित्र कुन उद्देश्यले तथा केका लागि बनाइएको भन्नेसमेत पुष्टि भएको छैन । केही चलचित्रले त नामलाई समेत प्रस्टयाउन नसकेको पाएँ ।’ अब पनि मेहनत नगर्ने हो भने नेपाली दर्शकले स्वदेशी चलचित्रलाई माया गरिरहन सक्दैनन् जस्तो लागेको छ, उनलाई ।