अघिल्लो वर्ष करिब १ सयवटा चलचित्र प्रदर्शन भए पनि अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भए । यति हुँदाहुँदै पनि वर्ष २०७६ मा अघिल्लो वर्षकै हाराहारीमा चलचित्र प्रदर्शन हुने संकेत छ । छायांकनपछि पोस्ट प्रोडक्सनमा रहेका चलचित्रको सूची नै दर्जनौंमा छन् भने प्रि–प्रोडक्सन तथा प्रोडक्सनमा रहेका चलचित्रको सूची पनि लामै छ । वर्ष २०७६ मा विभिन्न महिना प्रदर्शनमा आउने केही चलचित्र :
दाल भात तरकारी:
दर्शकमाझ प्रतीक्षाको विषय बनिरहेको चलचित्र हो— दाल भात तरकारी । मह सञ्चारले निर्माण गरेको यो चलचित्र वैशाख २० गते प्रदर्शन हुँदैछ । सुदन केसीद्वारा निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, वसुन्धरा भुसाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सनविक्रम राई आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको ट्रेलर दर्शकले मन पराएका छन् भने भिजिट भिसामा तथा दाल भात तरकारी शीर्षकका दुई गीत लोकप्रिय भैसकेका छन् । हरिवंश आचार्यको कथामा आधारित यो चलचित्रमा अभिनेत्री प्रियंका कार्की पनि छिन् । चलचित्रमा कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एउटा परिवारको कथा समावेश गरिएको चलचित्रको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
कालो वर्ष :
चार वर्षअघि गएको भूकम्पका कारण एउटा परिवारमा पुगेको क्षतिमा आधारित चलचित्र ‘कालो वर्ष’ यो वर्षको पहिलो प्रदर्शन हुनेछ । हालै टिजर सार्वजनिक भएको यो चलचित्र वैशाख १३ गते प्रदर्शनमा आउँदैछ । लक्षु गौतमद्वारा निर्देशित यो चलचित्रमा पवन भट्टराई, सुरेन्द्र बूढा, रश्मि शाह, रविन भुलेज, अनुपा, लोकेश आदि नयाँ कलाकारले अभिनय गरेका छन् ।
जात्रै–जात्रा:
चलचित्र जात्राको सफलतापछि निर्माण गरिएको सिक्वेल चलचित्र हो— जात्रै–जात्रा । जेठ ३ गते प्रदर्शनमा आउने यो चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । हास्य प्रधान यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा आदि कलाकारले अभिनय गरेका छन् । यसअघि गत फागुनमै प्रदर्शन हुने भनिएको यो चलचित्र समयमै छायांकन पूरा नभएपछि तीन महिनापछि सरेको हो । चलचित्रको केही समयअघि सार्वजनिक माया पिरिम गीतले लोकप्रियता पाइसकेको छ ।
वीरविक्रम–२:
जेठ ३ गते प्रदर्शन हुने अर्के चलचिक्र हो— वीर वित्रम–२ । मिलन चाम्सद्वारा निर्देशित यो चलचित्र मुस्ताङका आकर्षक लोकेसनमा छायांकन गरिएको छ । चलचित्रमा समावेश पिरतीको मीठो तिर्सना गीतले दर्शकको मन जितिसकेको छ । यो चलचित्रमा पल शाह, वर्षा शिवाकोटी तथा नाजिर हुसेन प्रमुख भूमिकामा छन् । एउटै मितिमा वीरविक्रम–२ र जात्रै–जात्रा प्रदर्शनमा आउने भएपछि दर्शक बाँडिने निश्चित छ ।
छ माया छपक्कै:
दसैंलाई प्रदर्शन मिति तोक्दै छायांकनमा जाने क्रममा रहेको चलचित्र हो— छ माया छपक्कै । दीपकराज गिरी तथा रोहित अधिकारीले निर्माण गर्ने यो चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रमा दीपकराज गिरी तथा केदार घिमिरेको मुख्य भूमिका रहने निश्चित छ भने अन्य कलाकारका बारेमा कुनै जानकारी गराइएको छैन । यही वैशाखदेखि छायांकनमा जाने यो चलचित्रले छक्कापञ्जा श्रृंखलाको जस्तै सफलता हासिल गर्न सक्ने अनुमान गरिएको छ । ग्रामिण परिवेशमा छायांकन हुने यो चलचित्र हास्यप्रधान हुनुका साथै यसमा प्रेमकथा समावेश गरिने निर्देशक लामा बताउँछन् ।
रातो टीका निधारमा:
दसैंमा प्रदर्शनमा आउने अर्को चलचित्र हो— रातो टीका निधारमा । निर्माता–निर्देशक अशोक शर्माको यो चलचित्र दीपकराज गिरीको छ माया छपक्कैसँगै दर्शकमाझ आउनेछ । निर्देशक शर्माले आफ्नो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेका छन् भने उनका छोरा अंकित शर्मा अभिनेताका रूपमा पदार्पण गर्न सक्ने प्रबल सम्भावना छ । चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी आदि कलाकारले अभिनय गर्नेछन् । स्मरण रहोस्, अघिल्लो वर्षको दसैंमा पनि दीपकराज गिरीको छक्कापञ्जा–३ तथा अशोक शर्माको जय भोलेबीच प्रतिस्पर्धा भएको थियो ।
हृदयभरि :
सुरज सुब्बा नाल्बोद्वारा निर्देशित चलचित्र हृदयभरि हाल छायांकनमा छ । चलचित्रमा पल शाह, श्रद्धा क्षेत्री, रेखा लिम्बू आदि कलाकारले अभिनय गरिरहेका छन् । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो चलचित्रमा नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत आदि कलाकारले पनि अभिनय गर्नेछन् । यही चलचित्रमार्फत नेपाली मूलकी मोडल श्रद्धा क्षेत्री अभिनेत्रीका रूपमा दर्शकमाझ आउन लागेकी छिन् । श्रद्धा हाल कोलकातामा मोडलिङ गरिरहेकी छिन् ।
मारुनी :
छायांकनको अन्तिम चरणमा रहेको चलचित्र हो— मारुनी । नवल नेपालद्वारा निर्देशित यो चलचित्रमा पुष्प खड्का तथा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । चलचित्रमा रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंकर सेढाइ, कुशाग्र भट्टराई आदिले समेत अभिनय गरिरहेका छन् । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो चलचित्रकी निर्मात्री पूनम पौडेल हुन् । नेपालगन्जबाट छायांकन प्रारम्भ भएको यो चलचित्र यतिबेला काठमाडौं आइपुगेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र मारुनीको हालै सार्वजनिक पोस्टरले अधिकांश दर्शकको ध्यान आकर्षित गरिरहेको छ ।
सम्हालिन्छ कहिले यो मन:
सुदर्शन थापाको निर्देशनमा निर्माण भैरहेको चलचित्र हो— सम्हालिन्छ कहिले यो मन । सम्पूर्ण छायांकन बेलायतमा गरिएको यो चलचित्र यतिबेला पोस्ट प्रोडक्सनमा छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य आदि कलाकारको महत्वपूर्ण भूमिका छ । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो रोमान्टिक चलचित्रमा त्रिकोणात्मक प्रेमकथा समेटिएको बताइन्छ ।
मेरो एउटा साथी छ–२:
करिब एक दशकअघि निर्माण भएको चलचित्र मेरो एउटा साथी छको सिक्वेल यही वर्ष प्रदर्शनमा आउनेछ । प्रज्वलशमशेर राणाले निर्माण गर्ने यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चलचित्रमा आर्यन सिग्देल तथा नम्रता श्रेष्ठसँग अर्का अभिनेता धीरज मगरले अभिनय गर्ने सम्भावना छ ।
कबड्डी–३:
निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी–३’ पनि यही वर्ष प्रदर्शनमा आउनेछ । प्रि–प्रोडक्सनमा रहेको यो चलचित्रका मुख्य कलाकारको छनौट बाँकी नै छ । चलचित्रमा क्याप्टेनबाट रजतपटमा उदाएकी उपासना सिंह ठकुरी तथा प्रदीप खड्काको मुख्य भूमिका रहने सम्भावना छ ।
पोइ पर्यो काले:
निर्देशक शिशिर राणाको चलचित्र ‘पोइ पर्यो काले’ लक्ष्मीपूजाका दिन अर्थात् कात्तिक ८ गते प्रदर्शनमा आउनेछ । यो चलचित्रमा पूजा शर्मा तथा आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्दैछन् । यो चलचित्रको निर्माण दीपक मनांगेले गर्न लागेका हुन् ।
जाइरा:
अभिनेत्री नम्रता श्रेष्ठले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र हो— जाइरा । अघिल्लो वर्षको मंसिरमै प्रदर्शन हुने भनिएको यो चलचित्र अब भने भदौ ६ गते प्रदर्शनमा आउनेछ । चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजाता श्रेष्ठ, सम्राट मगर आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र जाइराका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो हेयरस्टायल परिवर्तन गरेकी छिन् भने तौलसमेत घटाएकी छिन् । यो चलचित्रको निर्देशन आशुतोषराज श्रेष्ठले गरेका हुन् ।
प्रेमगीत ३:
दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म प्रोडेक्सनले निर्माण गर्न गैरहेको चलचित्र प्रेम गीत ३ आगामी चैत २८ गते देशभर सार्वजनिक हुने भएको छ । प्रेम गीतले १ सय बर्ष अगाडिको कथालाई प्रस्तुत गर्ने बुझिएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।