पछिल्लो समय लोकगीत पनि ट्रेन्डिङको नम्बर वानमा आउन थालेका छन्। केही समयअघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ।
रिलिज भएको १० दिनमा नै यसले ६४ लाखभन्दा माथि भ्यु पाउँदै ट्रेन्डिङमा नम्बर वानमा पुग्न सफल भएको हो। सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद अनि डाइलग हिट छन्। गाउँघरमा रोधी गाउने परम्परामा आधारित यो लोकभाका गायक प्रकाश सपूतले तयार पारेका हुन्।
बाग्लुङको औसत परिवारमा जन्मिएका सपूत दोहोरी ब्याटलबाट चर्चामा आएका थिए। यसअघि गीत गाउने र कोर्ने काममा सक्रिय भए पनि दोहोरी ब्याटलमा दिएको फरक प्रस्तुतिकै कारण उनी चर्चामा आए। आधुनिकीकरण र बाहिरी संस्कृतिको प्रभावसँगै नेपाली लोकभाका ओझेलमा पर्दै गएको अवस्थामा यो गीतले नयाँ उचाइ लिएको छ। केही वर्षयता नेपाली चलचित्रका गीतसंगीतले मौलिक पहिचान उठाउन थालेपछि नेपाली लोकभाका फेरि ब्युँतिएका हुन्।
गायक सपूतको गलबन्दीमा ठेट नेपाली शब्द र सरल लोकभाकाको प्रयोग छ। यो गीतको म्युजिक भिडियोमा गायकले अघिल्लो म्युजिक भिडियो ‘बोलमाया’ को कथा जोडेका छन्। गलबन्दी पनि बोलमायाकै टिम सपूत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी आबद्ध छन्। बोलमाया रोजीरोटीका लागि बिदेसिन बाध्य नेपालीको कारुणिक कथा हो। यो गीतले पनि निकै चर्चा पाएको थियो। अहिले चर्चामा छ ‘गलबन्दी’। ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्दै बुनिएको यो लोकभाका १५ मिनेट लामो छ।