‘कबीर सिंह’ ब्लक बस्टर : दुई हप्तामा दुई सय करोड

बलिउड सुपरस्टार शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो दबदबा कायम राखेको छ । हरेक दिन जबरजस्त व्यापार गरिरहेको छ । यो फिल्मले प्रदर्शनको पहिलो हप्ता घरेलु बजारमा १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा २ सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले दोस्रो हप्ताको छैटौं दिनसम्ममा २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रबार ‘कबीर सिंह’ ले १२ करोड २१ लाख, दोस्रो दिन १७ करोड १० लाख, तेस्रो दिन १७ करोड ८४ लाख, चौथो दिन ९ करोड ७ लाख, पाँचौ दिन ८ करोड ३१ लाख र छैटौं दिन ७ करोड ५३ लाख कमाउन सफल भएको छ ।

‘कबीर सिंह’ वर्ष २०१९ को सबैभन्दा तीव्र गतिमा २ सय करोड कमाउने फिल्म बनेको छ । योसँगै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पनि अटाएको छ । यो शाहिदको पहिलो फिल्म हो, जसले बक्सअफिसमा २ सय करोडको कमाई गरेको छ । साथै, ‘कबीर सिंह’ बलिउडको पहिलो ‘ए’ रेटेड फिल्म हो, जसले २ सय करोड क्लबमा इन्ट्री पाएको छ ।

फिल्म ‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यो फिल्म २१ जूनमा रिलिज भएको थियो । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् । यो फिल्मको सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । उनलाई कयौं ठूला फिल्म मिल्न थालेको छ । उनले पारिश्रमिक पनि दोब्बर बढाएका छन् ।

Categories:

Tags: