“पार्कर किङ्ग” दिनेश सुनारको अर्को रेकर्ड, २०औँ पटक लेखाए गिनिज बुकमा नाम

न्युयोर्क: नेपालका चर्चित पार्कर दिनेश सुनारले २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन्। उनले विभिन्न साहसिक र जोखिमपूर्ण पार्करिङ्ग गतिविधिहरूमा विश्व कीर्तिमान कायम गर्दै आएका छन्। आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको उनी बताउँछन्।

यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन्। उनले ३० सेकेन्डमा १८ पटक ब्याकवार्ड समरसल्ट गरेर यो कीर्तिमान कायम गरेका हुन्

‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका थिए। यससँगै दिनेश २०औं पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए।

यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौं र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ थिए। उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो।

उनको यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पुनः एक पटक चिनाएको छ। दिनेशले यसअघि पनि विभिन्न साहसिक गतिविधिहरूमा विश्व कीर्तिमान कायम गर्दै आएका थिए।

उनले अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्ना लक्ष्य रहेको जानकारी दिए। दिनेशको यो सफलता नेपालका युवाहरूलाई प्रेरणा दिनेछ र साहसिक खेलकुदमा थप रुचि बढाउनेछ।

Tags: