रामकृष्ण ढकाल लाई भेट्दा मान्छे तर्सिन्थे

“मलाई भेट्दा मानिसहरू भूत देखेझैँ तर्सिन थालेका थिए” गायक रामकृष्ण ढकाल पारसले गोली चलाए भन्ने घटनाबारे सुनाउँछन्, ‘पारसको एडिसीसँग चाहिँ मेरो विवाद परेको हो । तर, यत्रो हल्ला होला भन्ने मैले सोचेकै थिइनँ ।’ ‘ओराली लागेको हरिणको चाल भो’ गाएर प्रसिद्धिको उकालो चढेका र चुचुरोमै पुगेका रामकृष्ण ढकाल अहिलेचाहिँ साँच्चि नै ओरालो लागेका छन् भन्छन् संगीत-बजारका पण्डितहरू । बजारका सम्बन्धमा मुम्बई मायानगरीका स्ट्रगलिङ एक्टर (नवोदित कलाकार) हरूका मुखमुखमा भुन्डिएको हुन्छ यौटा वाक्य- ‘मार्केट बडी कुत्ती चिज होती है ।’ अर्थात्, बजार साह्रै खराब चरित्रको हुन्छ । मार्केटले रामकृष्ण ढकाल भन्ने ब्रान्डलाई चलाउन छोडेकै हो त ? ओरालो लागेकै हुन् त उनी ? ‘म बजारमा बिकिरहनुलाई मात्रै सफलता ठान्ने मान्छे होइन,’ उनी भन्छन्, ‘मेरा लागि संगीतकर्मको निरन्तरता प्रमुख कुरा हो ।’
आफ्नो दसौँ एल्बम निकाल्दै छन् उनी । त्यसभन्दा अघि उनको भजन एल्बम आउनेछ । भगवान्-भक्तिमा लीन भएर ३४ वर्षकै उमेरमा परत्र सुधार्न लागिपरेका चाहिँ होइनन् उनी । ‘भजनविधामा म केही नयाँ गर्न चाहन्छु,’ उनी भन्छन्, ‘भजनलाई कमजोर र फितलो गायनका रूपमा लिने गरिएको छ । तर, भजन-गायनमा पनि प्रोफेसनालिज्म भित्र्याउनुपर्छ अब । मैले त्यही गर्ने प्रयत्न गरेको हुँ ।’ कस्ता हुनेछन् त उनले व्यावसायिकतामा रंगाउन चाहेका भजनहरू ? आफ्ना भजन ‘भज नारायण’ या ‘हरे राम हरे कृष्ण !’ खालका नहुने बताउँछन् उनी, ‘जीवनदर्शनमा आधारित छन् मेरा भजन । परम्परागत भजनभन्दा एकदम भिन्न ।’ नास्तिकहरूले त नसुन्लान् नि उनका भजन ? ‘भजनको भावसँग विमति राखेर पनि संगीतको आनन्द त लिन सकिन्छ नि,’ उनी भन्छन्, ‘संगीत त संगीत हो नि, यसले आस्तिक र नास्तिक दुवैलाई आनन्द दिन सक्छ ।’
पच्चीस वर्ष भएछ उनले गाउन थालेको । दुई हजारभन्दा बढी गीत गाइसकेछन् । नेपाली संगीतमा पचासको दशक रामकृष्ण ढकालमय बनेको थियो भन्दा बढाइचढाइ गरेको नठहर्ला । उनको ‘आशा’ एल्बम साँढे दुई लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । ‘हालसम्मको सबभन्दा बढी बिक्री भएको आधुनिक गीतको एल्बम सायद यही हो,’ एकखाले गर्वबोध गर्दै भन्छन् उनी ।
लोकपि्रयताको धुरीमा चढाइदिने ओराली लागेको हरिणको चाल भो…गीतको एउटा रमाइलो किस्सा सुनाउँछन् उनी । ‘यो गीत मैले हङकङमा रेकर्ड गरेको हुँ । यो गीतको मिक्सिङ गर्दा मेरो जीउमा काँडा उम्रेको थियो । रेलमा यात्रा गर्दा वाकम्यानमा यसको रेकर्ड सुनेर म रोएछु । एकजना दाइले ‘आफ्नो गीत सुनेर पनि रुन्छन्’ भन्नुभो । मैले उहाँलाई ‘आज म रोएँ, यो गीत सुनेपछि अरू धेरै रुनेछन्’ भनेँ । नभन्दै भयो, त्यस्तै ।’
सुगम-संगीतलाई अभियोग लाग्ने गरेको छ- ‘यसले मायाप्रीति, दुःख, निराशा, कुण्ठा, हिनताबाहेक केही पनि बोलेन । जनताका पीडा, संघर्ष, जीविका र गरिबी कहिल्यै यसका विषयवस्तु भएनन् ।’ विशेष गरेर प्रगतिशील या जनवादी संगीतले यसको झाँको झार्ने गरेको छ । उसो त सुगम-संगीतले पनि प्रगतिशील संगीतलाई ठटाउन बाँकी राखेको छैन । सुगम-संगीतको आरोप छ, ‘जनताको गीतका नाममा प्रगतिशील संगीतले स्तरहीनतालाई आत्मसात् गरेको छ ।’
हरेक गीतमा शब्दकोषमा अरू शब्दै नभएजस्तो गरेर रगत, क्रान्ति, बन्दुक, योद्धाजस्ता शब्द मात्रै राख्नु, संगीत संयोजन साह्रै फितलो हुनु ‘सुगम’ले देख्ने ‘प्रगतिशील’का झुर पक्ष हुन् । रामकृष्णका अनुसार सुगम-संगीत पनि जनताकै गीत हो । भन्छन्, ‘दुःख, पीडा, माया-प्रेम पनि त जनताकै कुरा न हुन् ।’ द्वन्द्वकालमा ‘मेरो खुकुरीको नौलो कथा’ गाएर आफू जनताको पीडामा साझेदार भएको बताउँछन् उनी । थप्छन्, ‘जनताको बीचमा गाएर जनताकै मायाले यहाँसम्म पुगेको मान्छे हुँ म ।’
नेपाली संगीतलाई उनले पच्चीस वर्ष दिए । यो पच्चीस वर्षमा उनलाई संगीतका क्षेत्रमा खास के गरिएछजस्तो लाग्दो रहेछ त ? ‘आफ्नो योगदानको आफैँ चर्चा गर्नु राम्रो होर ? यो त अरूले विश्लेषण गर्ने कुरा होइनर ?’ एक सवालको बदलामा उनले दुई सवाल तेर्साइदिए । तैपनि, उनलाई आफ्नो योगदानको चर्चा गर्न लगाइयो । ‘मैले अग्रजहरूले बनाएको सुगम-संगीतको राजपथलाई अलिकति भए पनि फराकिलो बनाएँ कि ? स्वरसम्राट नारायणगोपालको निधनपछि देखापरेको ग्यापलाई थोरै भए पनि कम गरे किँ ?’ उनी भन्छन्, ‘गीत गाएर दाल-भातको व्यवस्था गर्न सक्ने सम्भावनाको ढोका खोल्ने मान्छे हुँ म । गीतलाई गरिखाने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेँ मैले ।’
अचेल गीतमा प्रविधि हाबी हुँदै गएको स्विकार्छन् ढकाल । राम्रो गीतको मानदण्ड ‘राम्राे शब्द, राम्रो गायन, राम्राे संगीत’ रहेनन् अब । आफ्नो गलाको दममा हिट हुने दिन गए । गीत सुनिनेभन्दा हेरिने ‘जिनिस’ भएको छ अचेल । गीत जस्तोसुकै होस्, म्युजिक भिडियो सानदार भए पुग्यो । गीतलाई मोडेलको बारुले कम्मर भँचाइले निलिदिन्छ । ‘गीत ८० प्रतिशत हेर्ने र २० प्रतिशत सुन्ने चिज भएको छ,’ ढकाललाई पनि प्रविधिको यो ‘विस्तारवादी’ चरित्र त्यति ठीक लागिरहेको छैन । दुर्भाग्य भन्नु कि के भन्नु, अचेल गायकहरू गायकभन्दा सेलिब्रेटी बन्न हतारिन्छन् । साँचो प्रतिभालाई प्रवर्द्धन गर्ने निकाय नभएर सेलिब्रेटी उत्पादन गर्ने कारखाना भएका छन् मिडियाहरू । जसले खर्च गर्न सक्यो, मिडियासँग डिल गर्न जान्यो, ऊ सेलिब्रेटी बन्यो ।
विनासंघर्ष गीत-संगीत क्षेत्रमा आइरहेका नयाँ-नयाँ मानिसबाट संगीतको खासै उन्नयन नहुने निष्कर्ष छ रामकृष्णको । सबैले उनले जस्तै दुःख पाउनुपर्छ भन्ने कतै लेख्या छ र ? ‘त्यसो भन्न खोजेको होइन,’ उनी भन्छन्, ‘तर, संघर्ष गरेर आएको मानिस परिपक्व हुन्छ र आफ्नो क्षेत्रमा टिक्न सक्छ । हरेक सफल मानिसका पछाडि केही न केही संघर्ष हुन्छ ।’
अन्तरआत्मादेखि नै रिमिक्स मन नपराउने रामकृष्णलाई रिमिक्स भनेको आफ्नो प्रतिभामा विश्वास नहुनेले गर्ने काम हो जस्तो लाग्छ । अरूले दुःख गरेर सिर्जेको सिर्जनालाई तोडमोड गरेर रातारात चर्चित हुन खोज्नु यसै पनि निर्लज्जताको पराकाष्ठा हो । आफ्नो गला र गायकीमा विश्वासै नहुनेले किन गाउन खोज्नु ? रामकृष्णका अनुसार संगीत कम्पनीहरू नयाँ गायकलाई कुनै रिमिक्स लिएर आऊ भन्छन् रे अचेल । अर्थात्, रिमिक्स विशुद्ध व्यापारिक सूत्र हो । नेपाली संगीतको समग्र स्वास्थ्यका लागि रिमिक्स हानिकारक छ भन्नेमा सहमत छन् रामकृष्ण ।
आफूलाई गाएका गीतका गीतकार र संगीतकारका नाम कण्ठै छन् उनलाई । कतै कार्यक्रम हुँदा उनीहरूका नाम भनिदिन छुटाउँदैनन् उनी । ‘कुनै-कुनै लाइभ कार्यक्रममा गीतको बीचमा पनि उहाँहरूको नाम उल्लेख गरिदिएको छु मैले,’ गीतकार र संगीतकारलाई गीतका प्रथम स्रष्टा मान्ने रामकृष्ण उनीहरूलाई ओझेलमा पार्न नहुने बताउँछन् ।
यौटा कार्यक्रममा उनले आफू प्र्रचण्डदेखि डराउने बताएका थिए । किन ? ‘इतिहास नै उलटफेर गरिदिने मानिससित डराउनु स्वाभाविकै होइन र ?’ उल्टै प्रश्न गरे उनले । दसौँ हजार मानिसका बलिदान परेको जनयुद्धका नाइके हुन् भन्दैमा प्रचण्ड नरमुण्डमाला त लगाएर हिँड्दैनन् नि ? अनि किन डराउनु उनीसित ? त्यसमाथि, प्रचण्ड त कलाप्रेमी मान्छे ! युद्धकालमा बान्की परेकी करिश्मालाई हेर्न कत्रो जोखिम मोलेर सिनेमा हल पुग्ने मान्छे हुन् उनी ?
(भलै, प्रचण्डबाट ‘भोको मान्छेलाई फूलभन्दा रोटी सुन्दर लाग्छ’ भन्ने माक्सर्वादी सौन्दर्यचेतनाको पालना नगरिएको होस् !)
खासमा, राजनीतिमा धेरथोर चासो राख्ने रामकृष्ण प्रचण्डको व्यक्तित्वबाट प्रभावित भएका रहेछन् । ‘प्रचण्डदेखि डर लाग्छ भन्नुको अर्थ,’ उनी भन्छन्, ‘उहाँजस्तो प्रभावशाली व्यक्तित्व भएको मानिससँग अलिअलि डर त लागिहाल्छ नि ।’
पारसले रामकृष्ण ढकाललाई गोली हाने रे भन्ने हल्लाले एकाध हप्ता नेपाल हल्लाइदिएको थियो । सनक र उद्दण्डताका एकमुष्ट एवं खुद्रा नमुना प्रस्तुत गरिसकेको पारसले त्यसो गरेनन् होला भन्न सकिने आधार पनि केही थिएन । त्यसमाथि, संगीतकार प्रवीण गुरुङमाथि गाडी चढाएको किस्सा जनताले भुलिसकेका थिएनन् । ‘यो हल्ला यस्तो व्यापक भएछ, मलाई भेट्दा मानिसहरू भूत देखेझैँ तर्सिन थालेका थिए,’ उनी सुनाउँछन्, ‘पारसका एडिसीसँग चाहिँ मेरो विवाद परेको हो । तर, यत्रो हल्ला होला भन्ने मैले सोचेकै थिइनँ ।’ विवाहको पहिलो वर्षगाँठ मनाउन नगरकोट जाँदा पारसका दलबलसित उनको अचानक भेट भएपछिको किस्सा हो यो ।
अन्त्यमा राखिन्छ सुरुकै प्रश्न- रामकृष्ण ढकालको क्रेज घटेकै हो त ? ‘क्रेज घट्नु या बढ्नु,’ उनी भन्छन्, ‘मेरा लागि धेरै माने राख्दैनन् । मेरा लागि माने राख्ने त गीत हो, जो म निरन्तर गाइरहेको छु । गाइरहनेछु ।’


Comments are closed.