भनिन्छ, फिल्म उद्योग सपनै-सपनाको उद्योग हो । नेपालको मायानगरी त्यति ठूलो छैन, तर ठुल्ठूला सपना बोकेर यस मायानगरीमा हामफाल्ने धेरै छन् । सपनाहरूको यस उद्योगमा ‘नायिका’ धेरै युवतीका लागि पि्रय र आकर्षक शब्द हो । धेरै युवती नायिका बन्ने सपनाका पछाडि हत्ते हालेर लागेका छन् । तर, नायिका गौरी मल्ललाई हिरोइन या नायिका कहिल्यै न सपनाको कुरा बन्यो न रहरको । ‘म त आर्मी बन्ने सपना देख्थेँ,’ उनले हाँस्दै भनिन् ।
आर्मी परिवारमा जन्मिएकी गौरीको सपना कुनै सामान्य महिलाको रुमानी सपनाभन्दा भिन्न थियो— आर्मी बनेर स्यालुट मार्ने र परेड खेल्ने । एकप्रकारले गौरी सानैदेखि पुरुष बन्ने सपना देख्थिन् । तर, मान्छेको जीवन कहाँ सोचेजस्तो हुन्छ र ? जीवनका असंख्य घुम्ती र मोडले मान्छेलाई नयाँ गोरेटोमा पुर्याइदिन्छ । आर्मी बन्ने सपना बोकेकी गौरीको जीवनमा पनि यौटा यस्तो मोड आयो, जसले पत्तै नदिई उनलाई हिरोइन बनाइदियो । ‘हिरोइन बन्ने न मेरो सपना थियो, न रहर नै,’ उनले सुनाइन्, ‘जे सोचिनँ त्यही भएँ, अर्थात् नायिका बनेँ । नसोचेको भइदिने, जिन्दगी यस्तै त रहेछ ।’
पुरुषजस्तै आर्मी भएर परेड खेल्ने सपना बोकेकी गौरीले अभिनयबाट बनाएको उचाइ देख्दा डाहाले भुतुक्कै हुनेहरूको कमी छैन यहाँ । तर, गौरीलाई भने परेड खेल्न नपाएकामा कहिलेकाहीँ पश्चात्ताप हुन्छ रे । भन्छिन्, ‘बाबा र मेरो सपना आर्मी बन्ने थियो । आर्मी बन्न नपाएकामा कहिलेकाहीँ पीडाबोध हुने गरेको छ । पुरुषजस्तै आर्मी बनेर परेड खेल्ने मेरो अधुरो सपना हो ।’गौरी मल्लले आफ्नो सपनाविपरीत हिरोइन बनेर साढे दुई दशक बिताइन् ।
आर्मी बनेर पुरुषसँगै परेड खेल्ने सपनालाई एकातिर थन्काएर अभिनयमा लागेकी गौरीको जीवनमा अहिलेसम्म कति पुरुष आए होला ? ‘थाहै छैन,’ गौरीले भनिन्, ‘अनेक रूप र सम्बन्धमा कति पुरुष आए कति ? कुनै हिसाबकिताब छैन । हिसाबकिताब राखेर साध्य पनि हुँदैन ।’ त्यसो भए उनका लागि योग्य पुरुषहरूचाहिँ कति भेटिन् होला त उनले ? ‘यो प्रश्न नै गलत छ,’ उनले ‘गलत’ प्रश्नको सही उत्तर दिँदै भनिन्, ‘कुनै पनि पुरुष योग्य र अयोग्य भन्ने हँुदैन । कुनै एकजनाका लागि अयोग्य पुरुष, अरूका लागि योग्य बन्न सक्छ । मसँग लोकसेवा वा अरू कुनै विश्वविद्यालयले योग्यताको मापन गरेजसरी पुरुषको योग्यता मापन गर्ने कुनै साधन छैन ।’
एउटा महिलाको जीवनमाथि सधैँ पुरुष नै हाबी हुने सामाजिक व्यवस्थामा बाँचेकी छिन् गौरी । जुनसुकै सम्बन्ध र स्वरूपमा आए पनि गौरीको जीवनमा पनि सधैँ पुरुष नै हाबी भयो । उनले पनि पुरुषसँग भेटिनुको आनन्द भोगेकी छिन् । र, पुरुषसँग छुट्टनुको पीडा पनि बेहोरेकी छिन् । कुनैवेला उनी पनि कसैकी श्रीमती र कसैकी बुहारी थिइन्, तर अहिले उनी ती साइनाबाट मुक्त छिन् । पुरुषसँग महिलाको सम्बन्ध किन टुट्ने गर्छ होला ?
‘पुरुषकै कारणले,’ उनले दाबीका साथ भनिन्, ‘ईश्वरका नाममा पुरुष पण्डितहरूले बनाएको सामाजिक मान्यताका कारण महिला प्रताडित छन् । त्यही प्रताडना सहन नसक्दा महिलाले सम्बन्ध र साइनो तोड्छन् ।’
गौरीले फिल्म सुटिङका क्रममा देशका धेरै जिल्लाका गाउँमा गएर नजिकबाट महिलाका समस्या नियाल्ने मौका पाएकी छिन् । ‘धर्म र सामाजिक मान्यताका नाममा पुरुषबाट यहाँ हजारौँ महिला प्रताडित छन्,’ कुनै समाजशास्त्रीले झैँ विश्लेषण गरिन् उनले, ‘हाम्रा दिदी-बहिनी कुनै विकल्प नभएपछि त्यही प्रताडना सहेर बाँचिरहेका छन् ।’ धर्म, संस्कृति र सामाजिक मान्यताका आधारमा पुरुषले महिलामाथि गर्ने विभेदको घनघोर विरोधी देखिइन् उनी, ‘म त विरोधै-विरोधले भरिएकी मान्छे हुँ । पुरुष पण्डितहरूले बनाएका धेरै मान्यतासँग असहमत छु म ।’
गौरीसँग पुरुषप्रति आक्रोश र असहमति मात्रै छ कि माया र आत्मीयता पनि छ ? ‘यो पुरुषप्रतिको आक्रोश होइन,’ उनले भनिन्, ‘पुरुषप्रधान मान्यताप्रतिको अहसमति हो । माया र आत्मीयताविनाको त मान्छे नै हुँदैन ।’
उनलाई पुरुषको के कुराले प्रभाव पार्छ त ? ‘पुरुषको बौद्धिकताले,’ उनले भनिन्, ‘बाहिरी आवरणले मलाई केही प्रभाव पार्दैन । लुगाले मान्छे जस्तो पनि देखिन सक्छ, तर उसलाई बौद्धिक भने ऊ आफूबाहेक कसैले बनाउन सक्दैन ।’गौरीलाई बाहिरी आकर्षण सबै भ्रम लाग्छ । अहिलेसम्म उनले धेरै पुरुषको संगत गरिन् । फिल्म लाइनमा धेरै पुरुषसँग काम गरिन् र गरिरहेकी छिन् ।
अहिलेसम्मको उनको अनुभव र बुझाइमा पुरुषको सबैभन्दा सुन्दर विशेषता के होला ? ‘कठोरता नै पुरुषको सबैभन्दा सुन्दर विशेषता हो,’ उनले सुनाइन्, ‘यस कठोरताभित्र सुन्दरता लुकेको हुन्छ ।’ सबै पुरुष कठोर नै हुन्छन् र ? ‘मात्रा कम र धेरै होला, तर प्रत्येक पुरुषभित्र कठोरता लुकेको हुन्छ,’ सिंगो पुरुषजगत्लाई कठोर बनाइदिइन् उनले । कठोरता पुरुषको सुन्दर विशेषता हो भने पुरुषको सबैभन्दा कुरूप विशेषता या प्रवृत्तिचाहिँ के हो त ? ‘उसको अहम् । आफूलाई सबैभन्दा सर्वोच्च ठान्ने प्रवृत्ति हुन्छ उसको,’ उनी यस्ता अप्ठ्यारा प्रश्नका यति छिट्छिटो जवाफ दिइरहेकी थिइन् कि मानौँ उनी वर्षांदेखि गम्भीरतापूर्वक पुरुषमाथि अध्ययन गरिरहेकी हुन् ।
उनी नेपाली फिल्म उद्योगकी पुरानी नायिका हुन् । ७० भन्दा बढी चलचित्रमा अभिनय गरेकी गौरी पर्दामा धेरै पुरुषका प्रेमिका बनिन्, कतिकी श्रीमती पनि बनिन् । धेरै हिरोसँग अभिनय गरेकी उनी कसबाट प्रभावित छिन् ? ‘भुवन केसी र शिव श्रेष्ठ,’ उनले सुनाइन्, ‘उहाँहरूको अभिनय र व्यक्तित्वबाट धेरै प्रभावित छु ।’ भुवनको रोमान्टिक अभिनय र शिवको हास्य रोलबाट प्रभावित छिन् रे उनी ।
उनलाई पुरुष नेताहरूमा को-को प्रभावशाली लाग्दा हुन् ? ‘गणेशमान सिंह, गगन थापा र डा. बाबुराम भट्टराई,’ उनले भनिन्,
‘उहाँहरूको बौद्धिकताबाट प्रभावित छु ।’ यीमध्ये पनि उनलाई सबैभन्दा सुन्दरचाहिँ गणेशमान लाग्छन् रे । ‘व्यक्तिगत स्वार्थविना देशका लागि सोच्ने नेपालको एउटै मात्र नेता गणेशमान हुन्,’ उनले गणेशमानप्रति असीम श्रद्धा प्रकट गरिन् । गणेशमानसँग नजिक रहेर बस्ने धेरै अवसर पाएकी रहिछिन् उनले । ‘मैले उहाँ बिरामी हुँदा धेरैपल्ट औषधी र भात खुवाएकी छु,’ उनले भावुक हुँदै भनिन् ।
सबै महिलाको एउटा न एउटा सपनाको राजकुमार हुन्छ, त्योसँग जीवन बिताउन पाए यस्तो हुन्थ्यो, त्यस्तो हुन्थ्यो भन्ने तर्कना र कल्पना हुन्छ । गौरी मल्लको सपनाको राजकुमार को होला त ? ‘पावेल,’ उनले सुनाइन्, ‘म्याक्सिम गोर्कीको आमा उपन्यासको हिरो पावेल मेरो सपनाको राजकुमार हो । पावेलजस्तो क्रान्तिकारी र जुझारु पुरुष पाए अहिल्यै बिहे गर्थें ।’ तर, पावेलजस्तो कुनै पुरुष अहिलेसम्म उनले भेटेकी छैनन् रे ।
गौरी वैवाहिक जीवनबाट टाढिएको ६ वर्ष बितिसकेको छ । फेरि पनि पुरुषसँगको जीवनको सपना उनीसँग छ कि छैन ? ‘सपनाविनाको पनि मान्छे हुन्छ र ?’ उनले भनिन्, ‘तर सबै सपना पूरा नहुन सक्छन् । म आफ्ना सपनालाई गोप्य नै राख्न चाहन्छु ।’
उनको अब फेरि घरजम हुने/नहुने कुनै टुंगो छैन । ‘बिहे गर्छु भनुँला, नहोला । गर्दिनँ भनुँला, होला,’ उनले भनिन्, ‘जिन्दगीको कुनै टुंगो हुँदैन । भविष्य कसले पो देखेको हुन्छ र ?’
अब गौरीले पुरुषसँगको जीवन सुरु गरिन् भने उनी कस्तो पुरुष रोज्दी हुन् ? ‘बौद्धिकता, अरूको भावनाको कदर गर्ने क्षमता, समाज र परिवारप्रतिको उत्तरदायित्वबोध भएको पुरुष,’ उनले भनिन् । यी विशेषता या गुण भएका पुरुष नपाएर बिहे नगरेकी त होइनन् उनले ? ‘होइन,’ उनले भनिन्, ‘तर मैले अहिले बिहेतिर ध्यान दिएकी छैन ।’ त्यसो त अहिले पनि उनको घरमा बिहेको प्रस्ताव लिएर आउने धेरै छन् । व्यापारी, कर्मचारी, उद्योगपतिदेखि कलाकारसम्मलेे बिहेको प्रस्ताव लिएर आइरहेका छन् रे ! गौरीलाई नयाँ जीवनको सुरुवात गर्न कसले रोकेको छ त, अथवा के ले रोकेको छ त ? ‘थाहा छैन, कसले र केले भन्नु अब,’ उनले सुनाइन्, ‘प्रेम गर्न, बिहे गर्न कसले र केले रोकेको छ भन्ने कुरा थाहै हुन्न रहेछ ।’
कविता र गीत लेख्नु गौरी मल्लको सोख हो । उनी राम्रो गाउँछिन् पनि । उनी अहिले कवि, गीतकार र गायिकाको परिचय बनाउने ध्याउन्नमा छिन् । ‘मलाई राम्रो कविता र गीत लेख्न सक्छु भन्ने आत्मविश्वास छ र लेखिरहेकी छु ।
उनले अहिलेसम्म पुरुषमाथि कुनै कविता र गीत लेखिन् कि लेखिनन् होला ? ‘किन नलेख्नु, धेरै लेखेकी छु ।’उनले सुनाइन्, ‘मेरो कुनै रचनामा पुरुषप्रति आक्रोश छ भने कुनैमा प्रेम ।’ बजारमा चाँडै नै उनको एल्बम आउँदै छ । त्यस एल्बमको शीर्षगीत एउटा पुरुषलाई सम्बोधन गरेर लेखेकी छिन् । त्यो गीत उनले गाएरै सुनाइन्—
हिजोसम्म आफूलाई बिर्सेर
तँमै हराएकी थिएँ
तेरो झुटो विश्वासमा
म नै गुमाएकी थिएँ
आफ्नै शब्द र संगीतमा उनले गाएको यस गीतमा प्रयोग गरेको ‘तँ’ शब्द पुरुषलाई नै सम्बोधन गरिएको हो । उनले सुनाइन्, ‘यो कुनै पुरुषको बन्धनबाट मुक्त भएपछि लेखिएको गीत हो ।’ को होला त्यो पुरुष जसमाथि उनले यसरी आक्रोश पोखेकी छिन् ? ‘यो कुराचाहिँ गोप्य नै रहन दिँदा राम्रो होला,’ उनले भनिन्, ‘यस गीतको गोपनीयता खोल्दा गीतको सुन्दरता लुटिन्छ ।’ गोपनीयता र सुन्दरताका विपक्षमा जाने मलाई के अधिकार ?