विराटनगर राजनीतिको केन्द्र हो भने कोलकाता कला-साहित्यको केन्द्र । संगीता रानाका अभिभावक आफ्नो सन्तानमा कलाकारिताले मलजल पाओस् भन्ने चाहन्थे । त्यसैले विराटनगरमा जन्मिएकी संगीताले कोलकातामा संगीतको ज्ञान लिने अवसर पाइन् । यही अवसरले उनलाई कुशल संगीतकर्मी बनायो । गायिका संगीता प्रधान रानाको मावली भारतीय नेपालीको बसोबास क्षेत्र खर्साङ हो । उनले प्रारम्भिक शिक्षा मावलीमै पाइन् । प्रारम्भिक शिक्षासँगै ६ वर्षको उमेरदेखि घरमा संगीत गुरु राखेर संगीत सिकाउने व्यवस्था मिलाइयो । त्यसैबेलादेखि उनमा राम्रो गायिका हुने रहर जाग्यो । यो रहर पूरा गर्न उनी कोलकाता पुगिन् । कोलकातामा ५ वर्ष संगीत अध्ययन गरेपछि मात्र उनले आफूले संगीतमा केही कुरा सिक्न सकेको अनुभव गरिन् । उनले विश्व भारती युनिभर्सिटीबाट संगीतमै स्नातकोत्तर गरेपछि यसैलाई आफ्नो क्यारियर बनाउने निर्णय गरिन् ।
संगीतलाई अथाह सागरका रूपमा लिने गायिका रानाले ५ वर्ष कोलकातामा बस्दा त्यहाँका चर्चित संगीतकर्मी प्रसुन बनर्जी, मीरा बनर्जी, युनुस हुसेन खान, आलोक चटर्जी आदि उस्तादहरूबाट शास्त्रीय गायन सिकिन् । त्यसैबेला उनले रेडियो खर्साङमा भ्वाइस टेस्ट उत्तीर्ण गरिन् । त्यसपछि उनका दर्जनौं गीत रेडियो खर्साङमा रेकर्ड भए । त्यसबेला दूरदर्शनको क्षेत्रीय टेलिभिजन प्रसारणबाट नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने अवसर पाइन् । उक्त कार्यक्रमसँगै उनको व्यक्तित्व माथि उठ्यो । प्रधानले सन् १९८३ मा कोलकाताको एउटा संगीत कम्पनीबाट गीत, गजल र भजनको एल्बम निकाल्ने अवसर पाइन् । उक्त एल्बमले नेपाली भाषी श्रोतालाई आकषिर्त गर्यो । उनी व्यावसायिक गायिका भइन् । त्यसबेला उनी एउटा गीतको भारतीय ३ हजार रुपैंयाँ पारिश्रमिक पाउँथिन् ।
भारतीय संगीत क्षेत्रमा क्यारियर बनाइरहेकी संगीता दाजुलाई भेट्न नेपाल आइन् । त्यसबेला नेपाली संगीत वृत्तमा उनको राम्रो स्वागत भयो । उनलाई ँभुमरी’ चलचित्रका लागि गीत गाउने अफर आयो । त्यसैबेला ललितकला कलेजमा प्राध्यापकको आवश्यकता थियो । नेपालमा संगीतमा स्नातकोत्तर गरेका संगीतकर्मी थिएनन् । यो जागिरले उनैलाई पर्खिरहेको जस्तो भयो । त्यसयता उनी काठमाडौंमै अल्झिईन । चलचित्रमा गीत गाउने क्रममा चलचित्रकर्मी किशोर रानासँग भेट भएपछि उनको मन रानासँग अल्झियो । रानाको माया र ललितकलाको जागिरले उनलाई नेपालमै रहन बाध्य बनायो ।
यसबीच रेडियो नेपालमा उनका सयौं गीत रेकर्ड भएका छन् भने हजारौं विद्यार्थीलाई उनले संगीतको सारेगम सिकाइरहेकी छिन् । उनी साइबाबाकी भक्त हुन् । संगीताले साईबाबाका धेरै भजनमा आफ्नो स्वर दिएकी छिन् । उनका कतिपय विद्यार्थी राम्रा संगीतकर्मीका रूपमा स्थापित छन् । ँसंगीतमा नाम राख्न संगीतको बेसिक कोर्सदेखि सिकेर आउनुपर्छ । क्लासिकल सिक्दा गायकीमा प्लस हुन्छ ।’ संगीता भन्छिन्, ँअचेल पैसा र गायकीको मोह हुनेबित्तिकै गाउने परिपाटी छ ।’
संगीता नेपाली संगीतमा सेमी क्लासिकल र जटिल गीत गाउने गायिकाका रूपमा परिचित थिइन् । विवाहपछि मात्र उनले सबै किसिमका गीत गाउन थालेकी हुन् । क्लासिकल गाउँदा नियममा बाँधिनुपर्छ । चलचित्रमा गाउँदा भने कथाको मुडअनुसार गाउनुपर्छ । जो समयसँग परिवर्तन भएर हिँड्न सक्दैन, त्यो पछाडि नै रहने उनको अनुभव छ । पचासौं चलचित्रमा स्वर दिइसकेकी संगीता षड्ज कला केन्द्रकी पि्रन्सिपल पनि हुन् ।