‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा

‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा भएको छ । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले यो विशेष अवार्डको मोडल तयार पारेको हो ।

नेपाली सिनेमाको प्रचार-प्रसार र आन्तरिक पर्यटन प्रवर्द्दनलाई मुख्य उद्येश्य बनाएको अवार्डसँग चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् ।

अवार्डले पपुलर तर्फ ५ र निर्णायक अधिकारतर्फ १४ विधामा अवार्ड प्रदान गर्नेछ ।

त्यस्तै निर्णयबाट नेपाली सिनेमाप्रति समर्पित व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । पपुलर तर्फको भने अवार्ड दर्शक मतका आधारमा तय गरिनेछ । पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका रहेका छन् भने, बेष्ट अवार्ड तर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति विधा समावेश गरिएको छ ।

नेफा मिडिया ग्रुपद्वारा जारी कार्यविधि अनुसार संचालन हुने नेपाल फिल्म अवार्ड (नेफा) स्वदेशी र विदेशी भूमिमा आयोजना हुनेछ ।

आयोजकले हरेक अवार्ड (ट्रफी)मा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश गर्ने बताएको छ । लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन प्रयोग हुनेछ । सम्मानितलाई ट्रफीसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

पहिलो संस्करणको यस अवार्डमा निर्णायक समितिमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।

५० लाख लागतमा सेट लगाएर काठमाडौँमै भव्य रुपमा आयोजना गरिने आयोजकले दाबी गरेका छन्। अवार्ड वितरण, नेपाली कला-संस्कृति विशेष प्रस्तुतिसहित सम्पन्न हुने समारोहलाई पूर्ण मनोरंजनसहितको ग्ल्यामर नाइट व्याख्या गरिएको छ ।

नयाँदेखि वरिष्ठ कलाकारसम्मलाई अवार्ड कार्यविधिको मापदण्डमा राखेर विभिन्न प्रस्तुतिहरु राखिने बलामी इन्टरटेनमेन्टका अध्यक्ष तथा संचारकर्मी समीर बलामीले बताएका छन ।

‘२ करोड लागत अनुमान गरिएको अवार्डलाई चार तहमा विभाजन गरिने भएको छ। पहिलो चरणमा घोषणा, त्यसपछि मनोनयन सार्वजनिक समारोह, ग्राण्ड अवार्ड समारोह र अन्त्यमा विशेष धन्यवाद समारोह हुँदै ‘२०७६ अवार्ड’ सम्पन्न हुनेछ । भव्य, सभ्य र निष्पक्ष अवार्ड हाम्रो चाहना हो‘, बलामीले भने ।

Tags: