मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन् । सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको ‘हिज मास्टर भ्वाइस’ (एचएमभी)मा ‘सवारी मेरो रेलैमा’ बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन् । ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी गुरुङकी जेठी छोरी मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो । मेलवाकी भदैनी सिरीमाया गुरुङका अनुसार उनी ओखलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी हुन् । त्यही ठाउँमा उनको स्मारक पनि रहने कुरा अर्का नातेदार सीताराम गुरुङले जनाएका छन् । पाँच वर्षको उमेरदेखि गाएर गाउँलेलाई छक्क पारेकी मेलवादेवीलाई राणाको दरबारमा भर्ना गर्न आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाडौँ पसे । चन्द्रशमशेरको दरबारमा दाखिला भएपछि उनको औपचारिक साङ्गीतिक जीवन आरम्भ भयो ।
चन्द्रशमशेरको दरबारमा गीत गाउने मेलवादेवी दरबारको रङ्गमञ्च, सभा–समारोहका अतिरिक्त चन्द्रसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका भक्त थिए । शुरुशुरुमा उनले चन्द्रकी रानी बालकुमारीदेवीबाट पनि बक्सिस पाउने गरेकी थिइन् । मेलवादेवीको कोकिल स्वरलाई विराट स्वरूप प्रदान गर्न मग्न चन्द्रशमशेरले उनलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्र आदिबाट शास्त्रीय सङ्गीत गायनको तालिम समेत दिलाए । त्यसपछि उनी झ्न् उत्कृष्ट स्वरकी गायिकामा दर्ज भइन् । भनिन्छ, मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्थ्यो । उनको स्वरका विषयमा छोरी विमला दीक्षितले धेरै अघि एउटा लेखमा भनेकी छन्, “मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस केशरशमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने ‘अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छ्यौ ?’ त्यसबेला आमाको प्रत्युत्तर थियो ‘पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्तिनँ । तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु ।’ अनि केशरशमशेरले आमासँग बाजी राख्तै भने ‘लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपैयाँ दिन्छु ।’ आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपैयाँ बक्सिस दिए ।”
चन्द्रशमशेरका पाहुनापासा आउँदा सिंहदरबारको बेलायती बैठकमा मेलवादेवीलाई झ्किझ्काउ पारेर उपस्थित गराइन्थ्यो । उनी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोक र नेवारी गीत गाउँथिन् । उनको स्वर सुनेर चन्द्रशमशेर बराबर उनलाई धाप मार्थे । त्यसैले सिंहदरबारमा मेलवादेवीको ईष्र्या गर्नेहरूको कमि थिएन । उनको स्वर बिगार्न रानी बालकुमारीदेवीकै इसारामा मेलावादेवीका शत्रुहरूले पानमा सिन्दूर राखेर खुवाए ।
त्यसपछि उनको स्वर एक्कासि खस्क्यो, चन्द्रशमशेर अति दुखित भए । उनले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए । तर जति खर्च गरे पनि पहिले जस्तो हुन सकेन । तैपनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन् । मेलवादेवीको स्वर सुक्न थालेपछि पनि उनी भन्ने गर्थे “गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।”
चन्द्रशमशेरकी मन पर्ने गायिका भएकीले सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षा देखिन्थ्यो । त्यसबेला उनलाई पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, माया गर्नु वा स्नेह देखाउनु बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो । यति हुँदाहुँदै पनि चन्द्रशमशेरका छोरा बबरशमशेर मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे भने तबलावादक भक्तकृष्ण मानन्धर उनको कला, रूप, यौवन र धनसम्पत्तिप्रति आसक्त थिए ।
मेलवादेवी र चन्द्रशमशेरलाई एकअर्कामा समर्पित देख्दा रानी बालकुमारीदेवीलाई अति नै सकस पर्न थालेको थियो । त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटियो । चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयश्वरीमा एउटा घर किनिदिए र २४ वर्षको उमेरमा उनी सिंहदरबारबाट निस्किइन् । उस्ताद भक्तकृष्ण मानन्धरलाई यो घटना ढुङ्गा खोज्दा देउता मिलेझ्ैँ भयो र उनी मेलवादेवीका पछिपछि लागे । मानन्धरले कैयौँ सपना–विपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगी सिन्दूरपोते र चुरा धागोले सजाए । बिहेपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लाग्यो, गुरुङसँग वैवाहिक जीवन गाँसेको कसुरमा उनी आफ्नो जातीय समाजबाट पनि वहिष्कृत भए ।
पहिला पनि दुई वटा बिहे गरेर सन्तान जन्माएका भक्तकृष्णका मेलवादेवीका तर्फबाट दुइटी छोरी विमला र शान्ति जन्मिए । तर, भक्तकृष्णसँग बिहे गरेको केही वर्षमै उनको दाम्पत्य जीवन भङ्ग भयो । आखिर आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गर्दै सुत्केरी भएको महिना दिनपछि नै दुई नाबालक छोरी च्यापेर रेलमार्गबाट कोलकातातिर लागिन् । त्यही यात्राको अनुभव सँगालेर उनले ‘सवारी मेरो रेलैमा’ गाएकी हुन् । त्यस बेलासम्म नेपाली भाषामा नेपाली नारी स्वरको रेकर्डिङ भएको थिएन ।
कोलकातामा मेलवादेवीको यात्रा स्वच्छन्दतावादी थियो । उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए, न हात बाँध्ने बाईं । त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरिरहन्थिन् । घरी इलाहावाद सङ्गीत सम्मेलनमा पुग्थिन् त घरी रामगढ सङ्गीत सम्मेलनमा । जहाँजहाँ गएर आफ्नो गलाको कौशल देखाउँथिन् त्यहाँ त्यहाँबाट सुनका तक्मा पाउँथिन् । इलाहावाद सङ्गीत सम्मेलनले त उनलाई ‘ठुमरीकी रानी’को दर्जा नै अर्पित गरेको थियो । मेलवादेवीले जीवनको उत्तराद्र्धमा आफ्नो नाउँ सुलभा राखिन् । त्यतिखेर आर्थिक रूपमा निम्नस्तरमै बामे सर्दै गरेकी उनी आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति कोलकाताकै मारवाडी बालिका विद्यालयमा सङ्गीतकी गुरुमा बनिन् । छोरीहरू पनि त्यही स्कूलमा भर्ना गरिए । त्यहाँको मात्र आयस्ताले नपुगेपछि आफ्नो कोठामा सङ्गीतको कक्षा समेत सञ्चालन गरेकी उनी शिष्यहरूलाई अध्यापन गराउने सिलसिलामा नेपाली, हिन्दी र बङ्गाली भाषामा बराबरी गीत गाइरहन्थिन् । दुःखसुख जीवन भोग्दै उनले दुवै छोरीको विवाह पनि गरिदिइन् ।
छोरीको बिहेपछि डेरामा एक्लै बसेकी मेलवादेवी पहिलेझ्ैँ एउटै कोठामा खाने–सुत्ने र विक्षिप्त मानसिक अवस्थामा घस्रँदै जीवन चलाउने गर्थिन् । २०१२ मङ्सिरको कुरा, खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो लाग्यो । भोलिपल्ट छिमेकीले कोठाभित्रै डढेको शरीर फेला पारे । कोलकाता मेडिकल कलेजमा लासको पोस्टमार्टम भयो । केही दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे । यो दुःखद् घटनाको जानकारी छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पछि मात्र पाए ।
( नई प्रकाशनका – नरेन्द्र प्रसाईबाट सम्पादित)