काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीलाई व्यवस्थित र सम्मानजनक बनाउन आवश्यक सामग्री (कर्रा) 'पशुपति विकास क्षेत्र' कोषलाई हस्तान्तरण गरेका छन् ।
पशुपतिक्षेत्रमा आयोजित कार्यक्रममा कलाकारद्वयले उक्त सामग्री कोषका अधिकृत सुर्य भाटलाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका सविन श्रेष्ठले आफ्नै खर्चमा यो सामग्री उपलब्ध गराएका हुन् । यसअघि पनि उनले महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायतका विभिन्न मानवीय अभियान सञ्चालन गर्दै आएका छन् ।
श्रद्धाञ्जली सामग्री हस्तान्तरणपछि सविनले चलचित्रकर्मीहरूको निधन हुँदा अन्तिम बिदाइका लागि कहिले कुर्सी त कहिले अन्य सामग्री खोज्नुपर्ने अवस्था देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए । यही अनुभूतिले आफूलाई यस्तो कार्यमा अग्रसर बनाएको उनको भनाइ थियो ।
“चलचित्रकर्मीहरूले जीवनभर समाजलाई मनोरञ्जन र योगदान दिनुहुन्छ, तर अन्तिम बिदाइका बेला सामान्य व्यवस्थापनका लागि पनि समस्या देखिनु पीडादायी लाग्थ्यो,” उनले भने, “अब यो सामग्री चलचित्रकर्मी मात्र होइन, पत्रकार तथा आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्नेछन् ।”
अभिनेत्री अनु शाहले जन्म र मृत्यु जीवनको अन्तिम सत्य भएको उल्लेख गर्दै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीलाई सम्मानजनक बनाउन आफू पनि जोडिन पाउँदा खुशी लागेको बताइन् ।
त्यस्तै, पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटले सविन श्रेष्ठको यो मानवीय पहलले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समेत बताए ।
सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार गरिएको जानकारी दिए । साथै, पशुपतिमा यसको व्यवस्थापन तथा सहजीकरणका लागि प्रोडक्सन म्यानेजर रामहरी डंगोल लाई जिम्मेवारी दिइएको बताइएको छ ।