काठमाडौं । अभिनेत्री नीता ढुंगाना को डेब्यू निर्देशन रहेको फिल्म पार्वती को पहिलो झलक सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मका दुई आकर्षक पोस्टर सार्वजनिक गरिएका हुन्, जसले दर्शकमाझ फिल्मप्रति उत्सुकता थप बढाएको छ ।
सार्वजनिक पोस्टरमा शीर्ष भूमिकामा समेत देखिएकी नीतालाई फरक–फरक क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । पहिलो पोस्टरमा उनी छात्राको भूमिकामा देखिन्छिन् । अन्य विद्यार्थीभन्दा फरक हाउभाउ र गम्भीर अभिव्यक्तिले उनको पात्रको संघर्षपूर्ण जीवनतर्फ संकेत गरेको छ ।
त्यस्तै दोस्रो पोस्टरमा कलाकार अशोक दर्जी ले नीतालाई पिठ्युँमा बोकेको दृश्य समावेश गरिएको छ । पोस्टरमा प्रयोग गरिएको ‘पार्वती’ शीर्षकको डिजाइनले पात्रको जीवनमा आउने बाधा, विद्रोह र समाजले लगाएको सीमित सोचविरुद्धको संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ ।
पोस्टरको पृष्ठभूमिमा ‘माया’, ‘परिवार’, ‘स्नेह’, ‘किरण’ जस्ता शब्दहरू चकले लेखिएको देख्न सकिन्छ । यसले फिल्मको कथा विद्यालय वा शिक्षासँग जोडिएको सामाजिक परिवेशमा आधारित रहेको संकेत गर्छ ।
फिल्म आगामी १२ भदौमा रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । नीताले यो फिल्मलाई आफ्नो “ड्रिम प्रोजेक्ट” को रूपमा लिएको बताएकी छन् ।
फिल्ममा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल को पनि अभिनय रहेको छ ।
नीता ढुंगाना फिल्म्स को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता हरिहर अधिकारी हुन् । फिल्ममा सुदीप बराल को छायांकन रहेको छ भने पटकथा शिवम अधिकारी ले लेखेका हुन् ।
चर्चित नृत्य समूह कार्टुन्ज क्रु सँग आबद्ध चर्चित डान्सर सरोज अधिकारी यस फिल्ममा क्रियटिभ निर्देशकको रूपमा रहेका छन् । यो उनको डेब्यू फिचर फिल्म समेत हो ।
