‘बब डाइ’ पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा
· ArtistNepal Network · Filmy News

१२ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक प्रवीण श्रेष्ठको नयाँ फिल्म ‘बब डाइ’ अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ। ४२ दिनको छायांकनपछि फिल्मको सम्पादन, डबिङ, ध्वनि संयोजन, कलर ग्रेडिङ लगायतका प्राविधिक कामहरू क्रमशः अगाडि बढिरहेका छन्।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन कीर्तिपुर र चन्द्रागिरी क्षेत्रमा गरिएको थियो। कीर्तिपुरको मौलिक संस्कृति र स्थानीय परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले त्यहाँको सामाजिक तथा सांस्कृतिक पक्षलाई पर्दामा प्रस्तुत गर्नेछ।

फिल्ममा सौगात मल्ल शीर्ष भूमिकामा छन् भने सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको फिल्ममा मैनिषा गौचन र प्रवीण श्रेष्ठको लेखन रहेको छ। श्याम तामाङले छायांकन गरेको फिल्मको सम्पादन निर्देशक श्रेष्ठ आफैंले गर्नेछन्।

फिल्मको नृत्य निर्देशनमा किरण थापा र सृष्टि महर्जन रहेका छन् भने द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन्। निर्माण पक्षले पोस्ट–प्रोडक्सनका बाँकी कामहरू सम्पन्न गरेपछि फिल्मको प्रदर्शनसम्बन्धी जानकारी सार्वजनिक गर्ने जनाएको छ।

Tags: Prabin Shrestha PRABIN SHRESTHA (MOKSHYA)