काठमाडौं — नेपाली संस्कृतिको सप्तरङ्गी झल्को विश्वसामु प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप (ENCG) फ्रान्सबाट स्वदेश फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला “रामचन्द्र”को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा सम्पन्न ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै उल्लेखनीय प्रस्तुति दिएको थियो।
यस कार्यक्रममा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो। टोलीमा डा. कोइरालासँगै सह–प्रधानाध्यापक सुजिता काफ्ले उदास, प्रधानाध्यापक श्याम दत्त अधिकारी तथा विद्यार्थीहरू— सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभान्जली साप्कोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी—को सहभागिता थियो।
मेलामा नेपाली मौलिकता झल्काउने मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरियो। नृत्य निर्देशन सपना महर्जनले गरेकी थिइन्।
फ्रान्स भ्रमणको सम्पूर्ण व्यवस्थापन ENCG की निर्देशक सीतल आचार्यले संयोजन गरेकी थिइन्। मेला अवधिभर विद्यार्थीहरूले विभिन्न विद्यालयहरूको अवलोकन गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा सहभागी भए।
प्रधानाध्यापक श्याम दत्त अधिकारीका अनुसार भविष्यमा विद्यालय–विद्यालयबीच यस्ता कार्यक्रमहरू विस्तार गर्ने पहल गरिनेछ। त्यस्तै, समूह प्रमुख डा. आरसी कोइरालाले स्थानीय नगरपालिका प्रमुख तथा आयोजकहरूसँग भेटघाट गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल गरेका थिए। सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने योजना पनि साझा गरिएको थियो।