काठमाडौँ । अटिजम भएकी दिदी र उनको भाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्मको टिजर गुरु पूर्णिमाको अवसर पारेर निर्माण टिमले सार्वजनिक गरेको हो।
एक मिनेट ५७ सेकेन्ड लामो टिजरले अटिजम भएकी पार्वती र उनका भाइबीचको माया, समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। टिजरमा मुख्य रूपमा पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा रहेका अशोक दर्जीलाई मात्र देखाइएको छ।
विशेष अवस्थाबाट गुज्रिरहेकी दिदीप्रति भाइको माया, साथ र जिम्मेवारीलाई टिजरले संवेदनशील रूपमा प्रस्तुत गरेको छ। टिजरमा समावेश “छोरीले भगवान् देखेकी छैन, तिमीलाई देखेकी छ” भन्ने संवादले दिदी–भाइको सम्बन्ध र फिल्मको भावनात्मक पक्षलाई अझ बलियो बनाएको छ।
पछिल्लो समय परिवार र समाजमा अटिजमसम्बन्धी बुझाइ, स्वीकार्यता र संवेदनशीलताको विषय महत्वपूर्ण बन्दै गएको अवस्थामा ‘पार्वती’ले यस्तै संवेदनशील कथालाई पर्दामा ल्याउने प्रयास गरेको देखिन्छ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजरले कथावस्तुप्रति दर्शकमाझ उत्सुकता बढाउने प्रयास गरेको छ। टिजरको सम्पादन तथा निर्माण साहिल खानले गरेका हुन्।
यसअघि सार्वजनिक भएको फिल्मको रत्यौली गीत ‘नौतुना रेलैमा’ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
नीता ढुङ्गानाकै कथा, पटकथा र निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।
फिल्मको छायांकन सुदीप बरालले गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन्।
फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। गीतका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत दीपक शर्मा, बाबुल गिरी र प्रशान्त सिवाकोटी लगायतले दिएका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्।
फिल्मको पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।