काठमाडौं, ५ साउन ।
निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो ।
लोकआधुनिक शैलीमा तयार पारिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशी को स्वर रहेको छ भने शब्द निर्देशक एभरेष्ट सूर्य बोहरा र संगीत राजनराज शिवाकोटीको रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी र विल्सन विक्रम राई फिचर छन् । गीतमा चमेली र शेरेको कथालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।
गायक तथा संगीतकार राजनराज शिवाकोटीले गीतले दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरे । उनले केही समय नयाँ सिर्जनाबाट विश्राम लिए पनि अब पुनः संगीत क्षेत्रमा सक्रिय भएको बताए ।
अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफू निकै उत्साहित रहेको बताइन् । यसअघि निर्देशक बोहरासँग ‘भैरे’ मा काम गरिसकेकी सुरक्षाले यो फिल्मको कथा र शैली आफूले कमै मात्र पाएको जनाइन् । कमेडी र वास्तविक जीवनसँग जोडिएको विषय भएकाले फिल्मप्रति आफ्नो ठूलो अपेक्षा रहेको उनको भनाइ थियो ।
अभिनेता मुकुन भुसालले सुरक्षासँग काम गर्ने आफ्नो इच्छा यस फिल्मबाट पूरा भएको बताए । केही निर्देशकबाट प्रस्ताव आए पनि सहकार्य हुन नसकेको स्मरण गर्दै उनले ‘चमेलीको पोइ’ बाट आफू निकै आशावादी रहेको बताए ।
गीतकार समेत रहेका निर्देशक एभरेष्ट सूर्य बोहराले ‘ओइ ओइ चमेली’ लाई दर्शकले आफूले लेखेको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ जस्तै माया गर्ने विश्वास व्यक्त गरे ।
फिल्मका निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’ आफ्नो पहिलो फिल्म भएकाले विशेष मेहनत गरिएको बताए । फिल्मको अमेरिकामा विशेष प्रदर्शनसमेत भइसकेको र त्यहाँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जानकारी दिएको छ ।
यो फिल्ममार्फत करिब डेढ दशकपछि चर्चित हास्य कलाकार नारायण त्रिपाठी (प्रेमचरो) अभिनयमा फर्किएका छन् । फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राईलगायत कलाकारको अभिनय रहेको छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मलाई शेरबहादुर तामाङले छायांकन गरेका हुन् । फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन् ।
नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदिप कुमार सापकोटा सह–निर्माता रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र आरआर फिल्म्सको वितरण रहेको छ ।