म्युजिक भिडियोमार्फत अभिनयमा फर्किइन् वरिष्ठ अभिनेत्री मौसमी मल्ल
· ArtistNepal Network · ArtistNepal News

काठमाडौं । वरिष्ठ अभिनेत्री मौसमी मल्ल लामो अन्तरालपछि म्युजिक भिडियोमार्फत अभिनयमा फर्किएकी छन्। गायिका नीता आचार्यको स्वरमा रहेको नयाँ गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ को भिडियोमा उनी प्रमुख रूपमा प्रस्तुत भएकी हुन्।

गोविन्द राईको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा मौसमीलाई परम्परागत नेपाली भेषभूषामा नेपालको इतिहास र सांस्कृतिक पहिचान झल्काउने विभिन्न पात्रको भूमिकामा देख्न सकिन्छ। रमणीय प्राकृतिक दृश्य र सांस्कृतिक प्रस्तुतिले भिडियोलाई आकर्षक बनाएको छ।

गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। भिडियो गायिका नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सन् २०१७ मा प्रदर्शनमा आएको ‘कारखाना’ पछि मौसमी मल्ल अभिनयबाट लगभग टाढिएकी थिइन्। लामो समयदेखि चलचित्र क्षेत्रमा निष्क्रिय रहेकी उनी यस म्युजिक भिडियोमार्फत पुनः दर्शकमाझ फर्किएकी हुन्।

मौसमीले सामाजिक सञ्जालमार्फत आफू हाल नेपालमै रहेको जानकारी दिँदै नयाँ सिर्जनामार्फत पुनः सक्रिय हुन थालेको संकेत गरेकी छन्। लामो समयपछि उनलाई पर्दामा देख्न पाउँदा उनका शुभचिन्तक र दर्शकले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।

नेपाली चलचित्रमा एक समय लोकप्रिय अभिनेत्रीका रूपमा परिचित मौसमी मल्लको यो पुनरागमनले आगामी दिनमा उनी पुनः फिल्ममा पनि सक्रिय हुने अपेक्षा दर्शकमाझ बढाएको छ।

 

Tags: mausami malla