क्रियापुत्री भवन गुम्बा निर्माणार्थ न्युयोर्कमा श्रीमद्भागवत वैदिक ज्ञानमय कथा सम्पन्न
· ArtistNepal Network · ArtistNepal News · Event News

न्युयोर्क ।
क्रियापुत्री भवन गुम्बा निर्माण सहयोगार्थ न्युयोर्कमा आयोजित श्रीमद्भागवत वैदिक ज्ञानमय कथा भव्य रूपमा सम्पन्न भएको छ । हामी नेपाली इन्टरनेसनल तथा रेभेल इभेन्टको आयोजनामा मे १५ देखि मे १७ सम्म वुडसाईडस्थित श्री दिव्य धाम मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रसिद्ध कथा वाचिका देबी प्रतिभा जीले श्रीमद्भागवत वैदिक ज्ञानमय कथा वाचन गर्दै धर्म, संस्कार, मानव सेवा तथा आध्यात्मिक चेतनाको महत्वबारे प्रवचन दिएकी थिइन् । कार्यक्रममा न्युयोर्क तथा आसपासका विभिन्न राज्यबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा भक्तजनहरूले भजन–कीर्तन, पूजा–आराधना तथा धार्मिक प्रवचनमार्फत आध्यात्मिक आनन्द लिनुका साथै गुम्बा निर्माणका लागि सहयोग समेत गरेका थिए ।

आयोजक संस्था हामी नेपाली इन्टरनेसनल तथा रेभेल इभेन्टले धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत नेपाली समुदायलाई एकताबद्ध बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाएको छ । साथै क्रियापुत्री भवन गुम्बा निर्माण कार्यलाई सफल बनाउन समुदायको साथ र सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

कार्यक्रमको समापन समारोहमा आयोजकले सहयोगी, स्वयंसेवक तथा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका थिए ।

तस्विर : नव ढुङ्गेल पिक्चर्स