करिस्मादेखि विराजसम्म - फिल्म क्षेत्रमा किन लुकाइयो वास्तविक नाम ?
भन्न त भनिन्छ, नाममा के नै छ र ? तर नेपाली चलचित्र क्षेत्रमा नामले धेरै अर्थ राख्छ । यहाँ धेरै कलाकार आफ्नो वास्तविक नामभन्दा पर्दामा चलेको नामबाट बढी चिनिन्छन् । कतिपयलाई त दर्शकले उनीहरूको असली नामले चिन्दै चिन्दैनन् ।
नेपाली फिल्म उद्योगमा कलाकारले नाम फेर्ने चलन पुरानै हो । कसैले आधुनिक सुनियोस् भनेर नाम फेरे, कसैले छोटो र आकर्षक बनाउन । कोही निर्देशकको सुझावमा नयाँ नाममा परिचित भए भने कतिले भाग्य बदलिने विश्वासमा नाम परिवर्तन गरे ।
नेपाली सिनेमाकी चर्चित अभिनेत्री करिस्मा मानन्धरलाई आज पनि दर्शकले त्यही नामले सम्झिन्छन् । तर, चलचित्र क्षेत्रमा आउनुअघि उनको नाम ‘बुनु केसी’ थियो । चलचित्र सन्तान का निर्देशक स्वर्गीय प्रकाश थापाले उनलाई नयाँ नाम दिएपछि उनी करिस्मा बनेकी थिइन् । पछि यही नाम नेपाली फिल्म उद्योगकै सबैभन्दा चर्चित नाममध्ये एक बन्यो ।
त्यस्तै, अभिनेत्री नन्दिता केसीको वास्तविक नाम शोभा केसी हो । इन्द्रेणी चलचित्रमा उनले निर्वाह गरेको पात्रको नाम ‘नन्दिता’ यति लोकप्रिय बन्यो कि पछि त्यही नामले उनी स्थापित भइन् । अहिले पनि फिल्म क्षेत्रका धेरैले उनलाई शोभा होइन, नन्दिताकै नामले चिन्छन् ।
अभिनेत्री उषा पौडेलको वास्तविक नाम रुक्मिणीकुमारी पौडेल हो भने मेलिना मानन्धर पहिले सुनीता मानन्धरका नामले चिनिन्थिन् । सोल्टिनी चलचित्रबाट चर्चामा आएकी मेघा पोखरेलको वास्तविक नाम विमला पोखरेल हो ।
यस्तै, मौसमी मल्लको वास्तविक नाम विष्णुमाया ठकुरी, पूजा चन्दको राधिका परियार, सारंगा श्रेष्ठको शारदा श्रेष्ठ, जेसिका खड्काको ज्योति खड्का र गीताञ्जलीको गीता सुनुवार रहेको बताइन्छ ।
नाम परिवर्तन गर्ने मामिलामा अभिनेता पनि कम छैनन् । अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो भने विराज भट्टको भोजराज भट्ट । संघर्षका दिनमा नाम परिवर्तन गरेका विराज पछि नेपाली र भोजपुरी दुवै फिल्म क्षेत्रमा सफल भए ।
आजका चर्चित अभिनेता आर्यन सिग्देल पनि पहिले हरिकृष्ण सिग्देल नामले चिनिन्थे । अभिनेता रमित ढुंगानाको वास्तविक नाम राधेश्याम ढुंगाना हो भने रोज राणाको सरोज थापा । त्यस्तै, सम्राट सापकोटा लेखनाथ सापकोटा, सबिन बाँस्तोला गिरिधारी बाँस्तोला र एनबी महर्जन नानीबाबु महर्जनका नामले परिचित थिए ।
फिल्मकर्मीहरूका अनुसार कलाकारले नाम फेर्नुको मुख्य कारण दर्शकलाई सजिलै सम्झन सकिने, छोटो र आकर्षक नाम खोज्नु हो । कतिपय कलाकारले ज्योतिषीय सल्लाहमा नाम परिवर्तन गर्छन् भने केहीले आफ्नो सामाजिक पृष्ठभूमि लुकाउन पनि नाम फेर्ने गरेको चर्चा फिल्म वृत्तमा सुनिन्छ ।
तर अन्ततः कलाकारलाई टिकाउने कुरा नामभन्दा पनि प्रतिभा र काम नै हो । नाम फेरेर चर्चामा आएका धेरै कलाकार सफल भए, तर केवल नामकै भरमा टिक्न नसक्नेहरू पनि उत्तिकै छन् । त्यसैले चलचित्र क्षेत्रमा अन्तिम मूल्यांकन नामले होइन, कामले हुने गरेको देखिन्छ ।
वास्तविक नामले कमै चिनिने केही नेपाली कलाकार
- करिस्मा मानन्धर — बुनु केसी
- नन्दिता केसी — शोभा केसी
- उषा पौडेल — रुक्मिणीकुमारी पौडेल
- मेलिना मानन्धर — सुनीता मानन्धर
- मेघा पोखरेल — विमला पोखरेल
- पूजा चन्द — राधिका परियार
- आर्यन सिग्देल — हरिकृष्ण सिग्देल
- निखिल उप्रेती — दिनेश उप्रेती
- विराज भट्ट — भोजराज भट्ट
- रोज राणा — सरोज थापा
- सम्राट सापकोटा — लेखनाथ सापकोटा
- एनबी महर्जन — नानीबाबु महर्जन