‘सुश्री सम्पत्ति’पछि पुनः निर्देशनमा फर्किए सुव्रत आचार्य, ‘हजारौँमा एक’ निर्माण घोषणा
· ArtistNepal Network · Filmy News

काठमाडौं । एक्सन–एड्भेन्चर, रहस्य र अलौकिक कल्पनामा आधारित नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा निर्माण हुने फिल्मको निर्देशन सुव्रत आचार्यले गर्नेछन्।

फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन्। उनी फिल्मकी प्रस्तुतकर्ता पनि हुन्। दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने छायांकन हरि हुमागाईंले गर्नेछन्।

निर्माण पक्षका अनुसार फिल्मको मूल भाषा नेपाली रहनेछ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यसलाई हिन्दी र मलयालम भाषामा समेत डबिङ गरिनेछ। फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको केरलास्थित मलयालम फिल्म उद्योगसँग आबद्ध रहेको जनाइएको छ। मुख्य अभिनेतासहित अन्य कलाकारबारे विस्तृत जानकारी भने फिल्मको फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

निर्देशक आचार्यका अनुसार फिल्ममा मलयालम फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको समेत सहभागिता रहनेछ। यद्यपि प्रमुख कलाकार, छायांकन, संगीत तथा अधिकांश प्राविधिक टोली नेपाली नै रहनेछन्।

फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवादमा रूपान्तरण तथा परिमार्जन गर्ने जिम्मेवारी लेखक शान बस्नेतले सम्हालिरहेका छन्। छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुने फिल्मले उच्च निर्माण शैलीमार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेको निर्माण पक्षको भनाइ छ।

निर्देशक सुव्रत आचार्य यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। फिल्म पत्रकारिताबाट आफ्नो यात्रा सुरु गरेका आचार्य टेलिभिजन अभिनयमा पनि सक्रिय रहे। पछिल्ला वर्षहरूमा भने उनी मुख्यतः म्युजिक भिडियो निर्देशनमा केन्द्रित थिए। ‘हजारौँमा एक’ उनको फिचर फिल्म निर्देशनमा पुनरागमनको प्रोजेक्ट हुनेछ।

Tags: nepali flim