प्रेम गीतका माहिर कवि तथा गीतकार वसन्त चौधरीले पाँच गीतिसिर्जनालाई एकसाथ विमोचन गरे। उनका अडियो सिडी, कविता संग्रह तथा इबुकहरु नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत–नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त र नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले चौधरीका सिर्जनाहरुलाई अनावरण गरे।
अनावरणअघि वसन्तले मेरा कविताहरुमा संग्रहित प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए। उनले हिन्दी कविता र केही मुक्तकहरुले पनि श्रोताहरुलाई मुग्ध बनाएका थिए। हरेक काव्य वाचनपछि लामो ताली बजेको थियो। भ्यालेन्टाइन दिनको पूरापूर छनक उनका कविताले दिएका थिए नै थापाथलीस्थित ट्रेडटावरको दोस्रो तल्लाको कार्यक्रम थलो पनि झकिझकाउ पारिएको थियो।
विमोचित एल्बम ‘बसन्तबेला’बाट गायक विश्व नेपालीले ‘दुःखभन्दा मिल्ने साथी’ र गायिका वाणिका प्रधानले ‘उमंगको छेउ छैन’ गीत सुनाएका थिए। एल्बममा विमला प्रधानको एकल संगीत रहेको छ।
कार्यक्रममा सिक्किमबाट आएका कलाकारहरुले चौधरीको रचना रहेको गीति एल्बम ‘कुछ ख्वाहिशें कुछ बन्दिशें’का गीत सुनाएका थिए। कल्याण सिंहद्वारा संगीतबद्ध एल्बममा आठ गीत समावेश गरिए पनि कार्यक्रममा सिक्किमे गायक मनोज राई, मदन राई र प्रकाश सुन्दासले मिठासपूर्ण स्वर सुनाएका थिए।
यसैगरी, केही समयअघि भारतमा विमोचित गरिएको वसन्तद्वारा सिर्जित ‘मोमेन्ट्स अफ लभ’ हिन्दी गीतिसंग्रहका दुई वटा म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। हिन्दी एल्बममा श्रेय घोषाल, रुपकुमार राठोर, नीति मोहन, पलक मुछल, जावेद अली, सान, मोहित चौहानले स्वर दिएका छन्। एल्बममा सुशान्त–शंकरको संगीत रहेको छ। यसलाई भारतको चर्चित कम्पनी टाइम्स म्युजिकले भारतीय बजारमा ल्याइसकेको छ।