आधा दशक अघिसम्म काठमाडौंको श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियोले वार्षिक दुई दर्जनभन्दा बढी गीतिसंग्रहको ‘सीडी’ (कम्प्याक्ट डिक्स) निकाल्थ्यो । त्यतिबेला प्रत्येक गीतिसंग्रहका यस्ता अडियो सीडी २ हजारदेखि १५ हजारसम्म बिक्री हुन्थे । दुई वर्ष यताबाट सो कम्पनीले एउटा गीतिसंग्रहको पनि अडियो सिडी निकालेर बजारमा पठाएको छैन ।
पछिल्लो समय सक्रिय रहेको संगीत कम्पनी ‘भाइव क्रियसन’ ले गीतिसंग्रहको ‘अडियो सीडी’ सम्म निकाल्ने गरेको छ । तर सो कम्पनीले एक वर्ष यताबाट यस्ता सीडी बजारमा पठाएको छैन । २०६० सँगै नेपालमा गीतिसंग्रहका ‘अडियो सीडी’ व्यापार फस्टाएको थियो । तर, २०७० नलाग्दै यसको व्यापार धराशयी भएको छ । २०६० पछि बिस्तारै गीतिएल्बम ‘अडियो क्यासेट’ बिक्न छाडे । यस्ता अडियो क्यासेट बजारमा आउन छाडेको आधा दशक नाघ्यो ।
‘अडियो सीडी’ले ‘अडियो क्यासेट’ बजार धराशयी बनाएको कथन म्युजिक कम्पनी सञ्चालकहरूको थियो । तर पछिल्लो समय भने सीआरबीटीलगायतका अन्य डिजिटल प्रविधिबाट श्रोताले गीतसंगीत सुन्न थालेपछि अडियो सीडीको व्यापार सुकेको व्यापारीहरूको कथन छ । ‘अडियो सीडी’ बिक्री नभएपछि पछिल्लो समय म्युजिक कम्पनीले ‘अडियो सीडी’ नै निकाल्न छाडेका छन् ।