गालिबको चिहानमाथि प्रकाश सायमी

Written by Artist Sansar

काठमाडौं -आर्टिस्ट नेपाल)- चलचित्र तथा पत्रकारिता र साहित्य लेखनमा उत्तिकै सक्रिय देखिएका प्रकाश सायमी नयाँ कविता संग्रहसाथ देखिएका छन् । उनको दोस्रो कविता संग्रह ‘गालिबको चिहान र अरू कविता’ राजधानीमा बुधबार सिक्किमेली कवि डा. राजेन्द्र भण्डारी, रत्ना लामिछाने-साहित्यकार शंकर लामिछानेकी पत्नी) , ग्रेस खालिङ – संगीतकार दिव्य खालिङ पत्नी) र सञ्चारकर्मी रवीन्द्र मिश्रले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

डा. राजेन्द्र भण्डारीको भूमिका रहेको यस संग्रहमा कार्यक्रममा भण्डारीले सायमीको कृति संवेदनशील र भावुकता रहेको औंल्याएक थिए । ‘भावनालाई छुने हुँदा उनका कृति लोकपि्रय छन्,’ उनले भने, ‘मौलिकता पनि उत्तिकै छ ।’

उक्त संग्रहमा सायमीले ३० वर्षदेखिका कविता र २० वर्षदेखिका गीतहरूलाई समावेश गरेका छन् । ‘अनन्त यात्रा’ -मुक्तक संग्रह), ‘ई सलाईका काँटीहरू’ -कविता संग्रह), ‘संस्करण’ र ‘वर्षादि दिनहरू’-निबन्ध संग्रह), ‘चलचित्र ः कला र प्रविधि,’ ‘फिल्म निर्माण र निर्देशन,’ ‘नेपाली संगीतको एक शताब्दी’ कृति प्रकाशन गरिसकेका सायमीका ‘अवतार’, ‘रानीखोला’,’हतियार’ चलचित्र र ‘आवाजहरू,’ ‘अञ्जलि,’ ‘साभार’ र ‘अवनि’ गीति एल्बम पनि प्रकाशित भैसकेका छन् ।

‘गालिबको चिहान र अरू कविता’मा संग्रहित कविता ‘गालिबको चिहान’
घर वा सपिंग मल बन्ला
हाउजिङ वा आकाशे बजार बन्ला
केही पनि बन्नसक्छ यो भूमिमा ।
धेरैवर्ष पछि
यहाँ गगनमहल बन्ला
वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन ।
व्यस्त भरिभराउ
वा हेर्नै नसकिने
अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ
तर हुनेछ यहाँ एउटा पुस्तक पसल
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा
कुनै गायिकाले
गालिबकै गजल गाएर
गाहकी बढाउला
वा हुनसक्छ
त्यो गगनचुम्बी भवनको
पुस्तकपसलमा कुनै सेल्सम्यानले
गालिबकै बोली बोलेर
उनका दीवान ए गालिब
वा उनको गजलको सीडी बेचिरहेका हुनेछन्
हुनेछ कुनै सभाभवनमा
गालिबको शतवार्षिकी
त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन्
गालिब
गत शताब्दीका महान् चित्रकार ॥
अनि बोल्दा बोल्दै उनका झरेका
आँसुलाई
क्यामेरामा कैद गर्न
टीभी च्यानलका लेन्सहरु
तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन्
तर कसैलाई थाह हुनेछैन
जहाँ त्यो गजल गाइँदैछ
जहाँ त्यो दीवान ए गालिब बेचिँदैछ
जहाँ त्यो स्मृतिसभा हुँदैछ
त्यही भवनको
जगमा
गालिबको चिहान छ भनेर ।

About the author

Artist Sansar