आर्टिस्ट नेपाल । हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गत ११ गते ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्याए वापत प्रदान गरेको मानार्थ विद्यावारिधि ग्रहण गरेकोमा क्षमायाचना गरेका छन् । उनीहरुले सो युनिभर्सिटीबारे तथ्य छानबिन गरी दोषी भेटिएमा कारबाही गर्न प्रशासनलाई आग्रह पनि गरेका छन् ।
महजोडीले जिल्ला प्रशासन कार्यालय अपराध अनुसन्धान शाखामा उजुरी दर्ता गर्दै सो आग्रह गरेका हुन् । महानगरीय प्रहरी परिसर हनुमानढोकालाई बोधार्थ गरिएको उजुरीमा महले आफूलगायत केही राजनीतिक व्यक्तित्व र विदेशी सभासद भनिएकालाई मध्यअमेरिकाको बेलिज भन्ने स्थानमा मुख्य कार्यालय रहेको र काठमाडौंको शंखमूलमा सम्पर्क कार्यालय रहेको युनिभर्सिटीले मानार्थ विद्यावारिधि प्रदान गरेकोमा सो सम्मान विवादास्पाद भएकोले लज्जाबोधसमेत भएको जनाएका छन् ।
‘यथार्थ नबुझी मानार्थ विद्यावारिधि ग्रहण गर्नु हाम्रो गम्भीर भूल भएको स्वीकार गर्दै यस घटनाले हामीलाई माया गर्ने करोडौं नेपालीको भावनामा समेत चोट पुग्न गएकोले हामी नेपाली दाजुभाई, दिदीबहिनीसँग क्षमायाचना माग्दै इन्टरनेसनल युनिभर्सिटीबारे तथ्य छानबिन गरी दोषी भेटिएमा कानुनबमोजिम कडा कारबाही गर्नसमेत सरकारसँग माग गर्छौं,’ उजुरीमा उल्लेख छ ।
सो युनिभर्सिटीले उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिकका ) का अध्यक्ष विजय कुमार गच्छदार, एमाले नेता केपी शर्मा ओली, श्रीलंकाका सभासद टीएमए उलुमुदेन ( अनवर ) र भारतका एमएम विश्वविद्यालयका कुलपती तारसेन कुमार गार्ग, सिङगापुरका भिटी थियागा राजन र मलेसियाका सिलिकन कलेज अफ टेक्नोलोजीका निर्देशक कुमार घोसलाई उद्योग विद्यावारिधीको उपाधी प्रदान गरेको थियो।