मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ ।
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन मिति संगै चलचित्रको पोष्टर पनि सार्वजनिक गरिएको हो ।
२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।