2011-07-09
प्रख्यात गायक तथा संगीतसाधक फत्तेमान राजभण्डारीलाई यस बर्षको हिट्स एफ एम लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिएको छ । नेपाली र नेपाललाई बिश्वसामु चिनाउन सफल माइती नेपालकी सस्थापक अनुराधा कोइरालाले गायक फत्तेमान लाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
१९९३ साल मङ्सिर पूणिर्माको दिनमा पशुपति, देवपत्तनमा जन्मनु भएका फत्तेमान पाँच वर्षदेखि गाउन थालेपनि पच्चीस वर्षको उमेरमा पहिलोपटक रेडियोमा ‘हे राम नाम प्रभुको, जप्दै प्राण यो जाओस्’ भजन पहिलो गीतको रुपमा रेकर्ड गराउनु भएको थियो ।
भारतिय सङ्गीतज्ञ गुरुदास गोख्ले संग २०१७ सालमा करिब छ महिनाजति सङ्गीत सिक्नु भएका फत्तेमानले २०१९ सालतिर एकेडेमीमा सङ्गीत शाखा खुलेपछि प्रो. रामप्रसाद रायसँग चार-पाँच वर्षसम्म शास्त्रीय सङ्गीत सिक्न भएको थियो । रेडियो नेपालमा उहाका आधुनिक, भजन, राष्ट्रिय र लोक गरी चार सयवटा गीत अहिलेसम्म रेकर्ड भइसकेका छन् । बीस-पच्चीसवटा गीतमा सङ्गीत दिनु भएको छ भने पन्ध्र-बीस वटा जति गीतको रचना पनि गर्नु भएको छ ।
फत्तेमानले सर्वप्रथम २०२५ सालमा रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा, ‘यस्तो पनि हुदो रै’छ जिन्दगिमा कैले कैले ‘बोलको गीत गाएर राजा महेन्द्रबाट प्रथम भएर स्वर्णपदक प्राप्त गर्नु भएको थियो । यसपछि २०५२ सालमा छिन्नलता पुरस्कार ,२०५५ मा प्रबल गोरखा दक्षिणबाहु लगायत हालसम्म डेढसय जति पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।