नेपाली सिने जगतमा एकछत्र राज गरेकी नायिका जल शाहलाई मातृशोक परेको छ । अमेरिकाको साल्टलेक सिटी स्थित इन्टर माउन्टेन हस्पिटलमा नायिका शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन भएको हो ।
२००२ साल असार १६ गते बिरगञ्जमा जन्मेकी अत्यन्त प्रभावशाली नारी साहित्यकार प्रेमा शाह वि.सं. २०१६ मा ”शारदा” मा ‘प्रतिक्रिया’ शीर्षकको कथा प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेकी हुन । बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरेकी उनले सेरामिक्सको पनि अध्ययन गरेकी थिईन् भने २०२६ सालमा नेपाली विषयमा एम. ए. पास गरिन् ।
जीवनमा बिभिन्न उतार चढाव भोगेकी साहित्यकार प्रेमा शाह त्यो समयकी संंघर्षशिल एकल आमा पनि हुन् जसले २०२८ सालमा पाटनका जे. पी. शाहीसंग बिबाह गरेपनि श्रीमान संगको सम्बन्ध बिच्छेदपछि नेपाली चलचित्रकी नायिका छोरी जल शाहलाई आफ्नै थर दिएर हुर्काईन् ।
‘पहेँलो गुलाफ’, ‘बिषयान्तर’, ’मम्मी’ ‘आकाश विभाजित छ’, ‘रामेको कथा’ ‘आनन्दको आविष्कार’ लगायत थुप्रै कृतिकी लेखिका प्रेमा शाहलाई बिषेशत यौन मनोबिज्ञानमा रहेर लेख्ने नारी स्रष्टाका रुपमा हेरिन्छ । साहित्यकार शाह लामो समय देखी छोरी जलसंग अमेरिकामा रहँदै आएकी थिईन् ।